मोसु नेपालद्वारा सञ्चालित आँखा शिविरमा उत्साहजनक सहभागिता
इटहरी । "मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूलमन्त्रका साथ स्थापित मोरङसुनसरी सेवा समाजको सामाजिक अभियान ध्यान गाउँ केन्दीत बनेको छ । आँखा शिविर सञ्चालन गरेर गाउँ गाउँका गरिब, दुःखीहरुको सेवामा समर्पित मोसु नेपालले सुनसरीको बक्लौरीस्थित आदर्श उच्च माविको प्राङ्गणमा ९ साउन २०७२ का दिन पहिलो पटक आँखा शिविर सञ्चालन गरेको छ । यसै गरी आगामी साउन १६ गते पुनः अर्को आँखा शिविर मोरङको हसन्दहमा आयोजना गरिने कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक मोसु टिम लागि परेको छ ।
शिविरका मुख्य तथ्यहरू
- ३२७ जना आँखाका रोगीहरुको उपचारसहित निःशुल्क औषधि वितरण
- १०७ जना अप्रेसनको सूचिमा परेका
- ५५ जना तुरुन्तै अप्रेसन गर्नुपर्ने — जसमध्ये २१ जनालाई सोही दिन र बाँकीलाई भोलिपल्ट उपचार
- स्थान: आदर्श उच्च माध्यमिक विद्यालय, बक्लौरी, सुनसरी
सो शिविरमा ७ सदस्यीय आँखा प्राविधिक टोलीमा रामलाल गोल्छा आँखा अस्पतालका अप्रेसन थिएटर इन्चार्ज सिपी आचार्य रहनु भएको थियो । संस्थाका पदाधिकारी, सल्लाहकार, मोसु कतारका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार संयोजक लोकबहादुर तामाङसहित मोसुका सदस्यहरुको बाक्लो उपस्थितिमा आयोजित सो आँखा शिविर रामलाल गोल्छा आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल र द फ्रेड ह्याल्लोज फाउन्डेसले सञ्चालन गर्ने शिविरलाई मोरङसुनसरी सेवा समाजले आयोजना गरेको हो ।
यस आँखा शिविरलाई सफल बनाउन अहम् भूमिका सामाजिक जनचेतना केन्द्रका सचिव बक्लौरीका सचिव जिवन कट्वालको टिम रहेको थियो भने लक्की शेर्पा, सचिव लिला अधिकारीलगायत स्थानीयबासीहरुको त्यतिकै भूमिका रहेको थियो । सो कार्यक्रमलाई सफल बनाउन बक्लौरी गाविस, बक्लौरी स्वास्थ्य चौकीले पनि सहयोग गरेका थिए ।
बक्लौरीमा आयोजित आँखा शिविरलाई सफल बनाउन लागि पर्ने सम्बद्ध सबैलाई मोसु नेपालका अध्यक्ष गोकुलबहादुर थापाले आभारसहित धन्यवाद ज्ञापन गर्दै १६ गते मोरङको हसन्दहमा आयोजना हुने आँखा शिविरलाई सफल बनाउन सम्बद्ध सबैलाई हार्दिक अनुरोध समेत गरेका छन् ।